मोबाइलको स्क्रिनबाट उद्योग ह्यान्डलसम्म
सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका–६ रातमाटामा अचेल बिहान ११ बजेपछि मेसिनको आवाज गुञ्जन थाल्छ । यो आवाज कुनै ठुलो औद्योगिक घरानाको होइन, स्थानीय ६ जना महिलाहरूको एउटा जुझारु सपनाको हो ।
सिता कुमारी कार्की, सुमित्रा घलान, सकलीमाया पाख्रिन, अन्जु श्रेष्ठ, कविता थापा र अनिता घोलेले संयुक्त रूपमा सुरु गरेको फाइबर झोला उद्योगले उनीहरूलाई गृहणीबाट उद्यमीमा रूपान्तरण गरिदिएको छ । चुलोचौकोमा महिलाहरु आज जिल्लामा एउटा सफल उद्यमको जग बसाल्दैछन् । धेरैजसो गृहणी घरायसी काममै सीमित हुन्छन् । बिहान–बेलुकाको चुलोेचौको सकेपछि बाँकी रहेको समय मोबाइलमा अल्झिन्छन् । रातमाटाका यी महिलाहरूको अवस्था पनि यस्तै थियो ।
उद्यमी मध्येकी एक सिता कुमारी कार्की विगत सम्झँदै भन्नुहुन्छ, “बिहान–बेलुकाको घरायसी काम सकेपछि हामीसँग खासै काम हुँदैनथ्यो । मोबाइलमा घन्टौँ घोत्लिएरै समय बित्ने गरेको थियो । फेसबुक, टिकटक हेर्दाहेर्दै दिन बितेको पत्तै हुँदैनथ्यो, तर हातमा भने केही पर्थेन ।”
तर, समय सधैँ एकैनाश रहेन । कमलामाई नगरपालिकाको कार्यालयले आयोजना गरेको १० दिने फाइबरको झोला बनाउने तालिमले उनीहरूको जीवनमा नयाँ मोड ल्याइदियो । तालिममा कुल १४ जना महिला सहभागी थिए । तालिम सकिएपछि धेरैले त्यसलाई सामान्य सीपका रूपमा मात्र लिए, तर सितासहितका ६ जनाले भने यसलाई व्यावसायिक रूप दिने अठोट गरे । गत वैशाखमा तालिम सकिएलगत्तै उद्योग संचालनमा ल्याउन कसिए । बजारमा नयाँ मेसिन किन्न बजेट पुग्दैनथ्यो, त्यसैले उनीहरूले उपाय निकाले, सेकेन्ड ह्यान्ड (पुरानो) मेसिन किन्ने । पाँच वटा पुराना मेसिन र कच्चा पदार्थ जुटाएर उनीहरूले वैशाख ३१ गतेबाट उद्योग संचालनको सुरुवात गरे ।
यो उद्योग कुनै ठुलो पुँजीबाट सुरु भएको होइन । सामूहिक रूपमा संकलन गरिएको मात्र एक लाख रुपैयाँको लगानीबाट यसको जग बसालिएको हो । थोरै लगानी भए पनि उनीहरूको कार्यतालिका र व्यवस्थापन भने निकै लोभलाग्दो छ । घरको सबै जिम्मेवारी पूरा गरेर दिउँसोको फुर्सदिलो समयलाई उनीहरूले पूर्ण रूपमा उद्योगमा लगानी गरेका छन् । यसले उनीहरूलाई समयको सही सदुपयोग मात्र गराएको छैन, बरु आर्थिक रूपमा आत्मनिर्भर बन्ने बाटो समेत खोलेको छ । “उद्योग सुरु गरेपछि हामी स्वरोजगार भएका छौँ । समयको असाध्यै राम्रो उपयोग भएको छ र समाजले हेर्ने दृष्टिकोण पनि बदलिएको छ, “उद्यमीहरू खुसी हुँदै सुनाउँछन् ।
नयाँ उद्यमका लागि बजार खोज्नु सधैँ चुनौतीपूर्ण हुन्छ, तर यी महिलाहरूको समूहले बिस्तारै बजारमा आफ्नो पकड बनाउन थालेको छ । हालसम्म उनीहरूले आठ सय पिस झोला बिक्री गरिसकेका छन् । उत्पादित फाइबर झोला प्रति गोटा २५ रुपैयाँका दरले बिक्री हुने गरेको छ ।
अहिले पनि उनीहरूसँग साँच सयभन्दा बढी झोलाहरू स्टकमा तयारी अवस्थामा छन् । उत्पादित सामग्री गुणस्तरीय भएकाले स्थानीय बजारबाट राम्रो प्रतिक्रिया पाइरहेको र बजार विस्तारका लागि थप लागिपरेको उनीहरू बताउँछन् । प्लाष्टिकजन्य झोलाको विकल्पका रूपमा फाइबर झोला वातावरणमैत्री समेत भएकाले यसको माग आगामी दिनमा अझ बढ्ने देखिन्छ ।
दर्ताको तयारी र सहयोगको अपेक्षा
सुरुवाती चरणमा परीक्षण र उत्साहका साथ काम सुरु गरेकाले हालसम्म यो उद्योग औपचारिक रूपमा दर्ता भने भइसकेको छैन । तर, व्यवसाय व्यावसायिक रूपमा अघि बढ्न थालेपछि अब छिट्टै दर्ता प्रक्रिया अगाडि बढाउने उनीहरूको योजना छ । कानुनी रूपमा दर्ता भएपछि व्यवसायलाई अझ ठुलो स्तरमा लैजान सहज हुने छ ।
यद्यपि, उद्योगलाई दिगो रूपमा अगाडि बढाउन उनीहरूका सामु केही प्राविधिक र आर्थिक अभावहरू अझै कायम छन् । व्यावसायिक रूपमा अझ धेरै उत्पादन गर्नका लागि उनीहरूलाई आधुनिक मेसिन, गुणस्तरीय कैँची र कच्चा सामग्री लगायतका थप औजारहरूको आवश्यकता परेको छ ।
स्थानीय सरकारले तालिम दिएर उद्यमी त बनायो, तर यी नवउद्यमी महिलाहरूलाई टिकाइराख्न र उद्योगको स्तरोन्नतिका लागि आगामी दिनमा पनि सरोकारवाला निकायबाट थप सहयोग र प्रोत्साहनको उत्तिकै अपेक्षा रहेको उनीहरू सुनाउँछन् । सानो प्रयास र बलियो इच्छाशक्ति हुने हो भने घरमै बसिरहेका महिलाहरू पनि आर्थिक रूपमा सबल बन्न सक्छन् भन्ने गतिलो उदाहरण रातमाटाका यी ६ जना गृहणीले प्रस्तुत गरेका छन् ।






प्रतिकृया दिनुहोस