निजी क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री बानियाँ
सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले निर्धारित समयमै चुनाव सम्पन्न गरेर गैरदलीय सरकार विदा हुनुपर्ने बताउनुभएको छ । मुलुक राजनीतिक दलको नेतृत्वमा अघि बढ्नुपर्ने बताउँदै राजनीतिक दललाई लामो समय बाहिरराखेर मुलुकमा स्थिरता ल्याउन नसकिने बताउनुभयो ।
सिन्धुली उद्योग वाणिज्य संघको ३५ औं साधारणसभाको उद्घाटन समारोलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मुलुकको संघीय सरकार लामो समयसम्म जनप्रतिनिधिविहीन हुनु हुँदैन । समयमै निर्वाचन गराएर गैरदलीय सरकार बाहिरिनु पर्छ ।”
जनप्रतिनिधिमूलक सरकार नहुँदा के अवस्था हुनेरहेछ भन्ने हेटौंडाका व्यवसायीले भर्खरै भोग्नु परेको उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “जनताका प्रतिनिधिहरूको सरकार नहुँदा हेटौंडाका व्यवसायीमाथि प्रहार भयो । यसअघि पनि पटक–पटक सडक भत्काउने प्रयास भएको थियो । जनप्रतिनिधिमूलक सरकार लखेटेर नागरिकको नाममा गठन भएको सरकारले समाधानको बाटो नखोजी के गर्यो सबैले देखेकै छौं ।”
प्रदेश सरकार गरिब किसान, विपन्न नागरिकलाई केन्द्रमा राखेर अघि बढिरहेको बताउँदै शिक्षालाई प्राविधिक सीप दिएर मुलुकमै रोजगार सिर्जना गराउन प्रयासरत रहेको बताउनुभयो । प्रदेश सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताउँदै उहाँले आगामी बजेट निर्माणको काम अघि बढ्नु अघि नै प्रस्तावहरू ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
विघटित प्रतिनिधिसभाका कांग्रेस मुख्यसचेतक श्याम घिमिरेले धारा ७६ बाहेक अन्य कुनै पनि धाराले प्रधानमन्त्री बन्न नसक्ने उल्लेख गर्नुभयो । वर्तमान सरकार संवैधानिक रहेको भन्दै उहाँले संविधानको उल्लेखसमेत नगरी गरिएको प्रतिनिधिसभा विघटन पनि असंवैधानिक रहेको सुनाउनुभयो । मुलुकमा व्यवसायिक वातावरण निर्माण हुन नसकेको भन्दै उहाँले प्रदेश व्यवसायीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
विघटित प्रतिनिधिसभाका सांसद लेखनाथ दाहाल (राजन) ले दल कमजोर बनाएर मुलुकलाई द्वन्द्वमा होम्ने षडयन्त्र चलिरहेको बताउनुभयो । “नेपाललाई युक्रेनजस्तो अवस्थामा पुर्याउन जिलेन्स्कीको खोजी भइरहेको छ । समाजमा द्वन्द्व भित्र्याउन प्रयास भइरहेको छ, “ उहाँले भन्नुभयो, “मुलुकमा शान्तिसुरक्षाको अवस्था कमजोर छ । हतियार र अपराधी बाहिर राखेर कस्तो निर्वाचन होला ?”
उहाँले जेनजी आन्दोलनपछि व्यवसायिक वातावरण थप बिथोलिएको भन्दै बाह्य लगानी भित्र्याउन पनि नयाँ परिस्थिति निर्माण आउनुपर्ने बताउनुभयो । उहाँले जेनजीसमेतको सहमतिमा संविधान संशोधन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचनमा जानुपर्ने धारणा राख्नुभयो । विघटित प्रतिनिधिसभाकी सांसद तथा कांग्रेस सचेतक सुशीला थिङले समाजमा भाइरल प्रवृत्ति बढेको उल्लेख गदँै त्यसले समाजलाई ठीक ठाउँमा नपुर्याउँने तर्क गर्नुभयो । “समाज र मुलुक थप दुर्घटनामा जान सक्छ । जसले जे काम गर्ने हो, त्यसले त्यही नगर्दा अहिले समस्या आएको हो,” उहाँले भन्नुभयो ।
सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, बागमती प्रदेश सांसद छेत्रबहादुर बम्जन, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, कमलामाई नगरपासिलका, सिन्धुलीका प्रमुख उपेन्द्र कुमार पोखरेल लगायत वक्ताले सिन्धुली उद्योग वाणिज्य संघको साधरणसभा सफलताको शुभकामना व्यक्ति गरेका थिए ।






प्रतिकृया दिनुहोस