सिकाई केन्द्रबाट समृद्धितर्फ उर्मिलाको यात्रा
सिन्धुली । कमलामाई नगरपालिका–५ आहालेकी उर्मिला नेपालीको विहान अहिले गाईको गोठबाट सुरु हुन्छ । दूध दुहुनु, डेरीमा दुध बेच्न जानु, गोठको सरसफाई, घाँस व्यवस्थापन गर्नु—यी उहाँका दैनिकी हुन् । गोठमा उन्नत जातका जर्सी गाई छन् । कोरली, तारी, मुररी र गोठु नामले बोलाइने गाईहरू परिवारको आयआर्जनको मुख्य आधार बनेका छन् । दुई वटा गाईले अहिले दूध दिइरहेका छन् भने दुई वटा ब्याउने तयारीमा छन् ।
दुई वटा गाईको दैनिक ३५ लिटर दूध बिक्री हुन्छ । दूध बेचेर मासिक करिब ३५ हजार रुपैयाँ बचत हुने गरेको उहाँले बताउनुभयो ।
उर्मिला पशुपालनमा मात्रै सीमित हुनुहुन्न । सुधारिएको करेसाबारी र व्यावसायिक तरकारी खेती उहाँको आम्दानीको अर्को आधार बनाएको छ । दुई कठ्ठा जमिनमा व्यावसायिक तरकारी खेती गरेर मासिक २० हजार रुपैयाँसम्म आम्दानी लिने गरेको उहाँले बताउनुभयो ।
घरपरिवारको पोषणका लागि विभिन्न फलफूलसमेत रोपिएका छन् । यसले बजारमा निर्भरता घटाउनुका साथै परिवारको पोषण सुधारमा पनि सहयोग पुगेको छ । “पहिले खेती गरिन्थ्यो, त्यसले आफैं खान पनि धौंधांै थियो । अहिले व्यवसाय चलाइरहेका छौँ,” उहाँले सुनाउनुभयो । दूध र तरकारी बिक्रीबाट हाल मासिक ५० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ । यो आम्दानीले परिवारको जीवनस्तर मात्रै उकासेको छैन, सन्तानको भविष्य निर्माणमा समेत टेवा पु¥याएको छ । उर्मिला भन्नुभयो्, “यही आम्दानीले छोरीलाई पोखरामा राखेर डाक्टर पढाएका छौँ, छोरालाई जापान पठायौँ ।”
कृषि, पशुपालनसँगै उहाँले विभिन्न सभा, समारोह, कार्यक्रम, संघसंस्था, समुहका बैठकमा पनि सक्रिय सहभागिता जनाउन थाल्नु भएको छ । आहाले कृषि सिकाई केन्द्रमा हुने कुनै पनि बैठक, कार्यक्रम उहाँले छुटाउनु हुन्न ।
केही वर्ष अघिसम्म उर्मिलाको अवस्था फरक थियो । घरमा एउटा मात्र भैंसी थियो । त्यसको पालनपोषणमै निकै कठिनाइ हुन्थ्यो । घाँसका लागि जंगल धाउनुपथ्र्यो, त्यो पनि घण्टौँ पैदल हिँडेर । श्रम धेरै, आम्दानी कम । जीविकोपार्जन चलाउनै चुनौती थियो ।
“एउटा भैंसी पाल्न पनि धौँधौँ थियो,” उर्मिलाले विगत सम्झिदै भन्नुभयो, “जंगलबाट घाँस ल्याउँदा दिनै बित्थ्यो ।” तर अहिले त्यो अवस्था फेरिएको छ । यो परिवर्तनको आधार बन्यो वल्र्ड नेवर्ससँगको साझेदारीमा सिड्स नेपालले सञ्चालन गरेको नेपाल एकीकृत ग्रामीण विकास परियोजना ।
परियोजनाले गाउँमै स्थापना गरिदियो, आहाले कृषि सिकाइ केन्द्र । त्यही केन्द्रबाट उर्मिलाले जीवन बदल्ने बाटो पहिल्याउनु भयो । सिकाई केन्द्रमा उहाँले व्यक्तित्वदेखि नेतृत्वसम्मका सीप सिक्न पाउनुभयो । स्वरोजगार बन्न उहाँलाई यसै केन्द्रले सिकाएको हो ।
पहिला बाँझो देखिने जमिन अहिले हरियाली बनेको छ । व्यावसायिक जैविक खेतीले पर्यटक समेत आर्कर्षित हुन थालेका छन् । खेती गर्नका लागि बजारको रासायनिक मल र विषादीमा खर्च गर्नु परेको छैन, आफ्नै पशुचौपायको मल र जैविक मलले सहयोग गरेको छ ।
परियोजनामार्फत उर्मिलाले पोषणयुक्त घाँसका बिरुवा पाउनुभयो । बाँझो जमिनमा रोपिएका विभिन्न जातका घाँसले अहिले वर्षभरि पशुका लागि आहार पुग्ने गरेको छ । पहिले जस्तो जंगल धाउनु पदैँन । कृषि वनमा घाँस उत्पादन भएपछि समय, श्रम र लागत सबै बचत भएको छ । “अहिले जंगल जानु पर्दैन,” उर्मिलाले मुस्कुराउँदै भन्नुभयो, “आफ्नै बारीको घाँसले बाह्रै महिना पुग्छ ।”
उहाँकाअनुसार घाँस व्यवस्थापनसँगै पशुपालन व्यवस्थित बनेको छ । खर्च घट्ेको छ, उत्पादन बढ्दै गएको छ । पोषण मिलाएर खान, घरदेखि वातावरणसम्म सफा, स्वच्छ र सरसफाइ कायम गर्न सिकाइएको ज्ञानले जीवनशैली नै बदलिएको उहाँको अनुभव छ । सिकाइ केन्द्रले उत्पादन बढाउने सीप मात्र दिएन, नेतृत्व विकासदेखि पोषण, फोहोर व्यवस्थापन, व्यवसायिक सोचसम्म सिकाएको उर्मिलाले बताउनुभयो । भन्नुभयो, “हामीले गरिरहेकै कामलाई व्यवस्थित र व्यवसायिक ढंगले गर्न सिकायो । यसले हाम्रो नेतृत्व, व्यवस्थापन र जीवनशैलीमा पनि परिवर्तन ल्याएको छ ।”
सही ज्ञान, स्थानीय स्रोतको उपयोग, सामुदायिक सिकाइ र प्राविधिक सहयोगले ग्रामीण महिलाको जीवनमा रूपान्तरण सम्भव छ । एउटा भैंसी पाल्न संघर्ष गर्नुपरेकी उर्मिला आज व्यावसायिक कृषक बन्न सफल हुनुहुन्छ । यो केवल उर्मिलाको व्यक्तिगत उपलब्धि होइन, सिकाइ केन्द्रमार्फत सम्भव भएको दिगो परिवर्तनको उदाहरण हो ।
परियोजनाले यस्ता कार्यक्रमलाई थप विस्तार गर्न सके ग्रामिण समुदायको जिवनस्तर बदलिने छ नै, यसले देशलाई समृद्ध बनाउने समेत टेवा पुग्ने थियो ।






प्रतिकृया दिनुहोस