आहालेकी इन्द्रक्रान्तीको आत्मनिर्भरता 

सिन्धुली । वरिपरि हरियाली छ । त्यही हरियालीभित्र जस्ताको छानो भएका स–साना घरहरू छन् । तर यी सामान्य घर होइनन्, श्रम, सिर्जना र आत्मनिर्भरताको पाठ सिकाउने जीवित पाठशाला हुन् । घरको आँगन थोत्रा कपडाबाट बनाइएका कलात्मक गमलाले सजिएको छ, जहाँ थरीथरीका फूल मुस्कुराइरहेका छन् । करेसाबारीमा सागसब्जी लहलहाएका छन् । गोठमा भैंसी छन्, भैंसीको गोबरबाट बायोग्यास निस्किएको छ, गोबर व्यवस्थापनका लागि सुधारिएको भकारो छ, झोल मल तयार छ, गड्यौला मल उत्पादनको तयारीमा छ ।


भाडा माझ्ने ठाउँ (जुठेल्नो) को पानीसमेत करेसाबारीमा उपयोग गरिएको छ । घरअगाडि फलले झुकेका लिचीका बोट छन् । यो दृश्य कुनै फार्मको होइन, सिन्धुलीको कमलामाई नगरपालिका–५ आहालेकी ३५ वर्षीया इन्द्रक्रान्ती तामाङको घरपरिसरको हो । 
यही परिवेशलाई अझ व्यवस्थित, विस्तार र दिगो बनाउने यात्रामा तल्लीन इन्द्रक्रान्ती अहिले आफ्नो परिवार मात्र होइन, समुदायकै प्रेरणाको स्रोत बन्नु भएको छ । 


कुनै समय दुई जना व्यक्तिको अगाडी उठेर परिचय दिनुपर्दा थरथर काँप्ने इन्द्रक्रान्ती आजभोलि बैठक सञ्चालन गर्नुहुन्छ, माइन्युट लेख्नुहुन्छ, समुहको हिसाबकिताब राख्नुहुन्छ, औपचारिक कार्यक्रम संचालन गर्नुहुन्छ, तालिम दिनुहुन्छ र अरूलाई नेतृत्व कला सिकाउनु हुन्छ ।  “मलाई आफ्नो नाम भन्नसमेत डर लाग्थ्यो, उठेर परिचय दिनुपर्दा बोल्नै सक्दिनथेँ । जब सिकाई केन्द्रमा आवद्ध भएर विभिन्न तालिम लिने अवसर मिल्यो, मेरो चौतर्फी क्षमतामा विकास भयो,” उहाँले खुशी हुँदै सुनाउनुभयो । 


यो परिवर्तनको श्रञ्य जान्छ, वल्र्ड नेवर्ससँगको साझेदारीमा सिड्स नेपाल सिन्धुलीले सञ्चालन गरेको नेपाल एकीकृत ग्रामीण विकास परियोजनालाई । २५ पुस २०७७ मा दलित र जनजातिको मात्रै बसोबास रहेको आहालेमा ‘आहाले सिकाइ केन्द्र’ गठन भयो । त्यही केन्द्रकी सचिव तथा व्यवस्थापन समितिको सदस्य बन्नुभयो इन्द्रक्रान्ती । जहाँ पहिले कुनै संघसंस्था पुगेका थिएनन्, ‘समूह’ भन्ने शब्दसमेत अपरिचित थियो । त्यही बस्ती आज सामूहिक सिकाइ र रुपान्तरणको नमुना बनेको छ ।


कृषि वन, पशुपालन र जैविक खेतीले आत्मनिर्भर बनाएको छ । इन्द्रक्रान्तीले १३ सय वटा भुईकटहर रोप्नु भएको छ । पाँच कठ्ठामा कृषि वन छ । अम्रिसो, किम्बु, मेन्दोला विभिन्न प्रकारका पोषिलो आहाराले पशुपालनमा सहजता थपेको छ । पहिले घाँस काट्न दिनै खर्चेर जंगल धाउनुपथ्र्यो, अहिले बाँझो जमिनमा रोपेको घाँसले भैंसी पालन गर्न सजिलो भएको छ भने बचेको घाँस बिक्रीबाट आम्दानी पनि हुन्छ । 


परियोजना कार्यान्वयनमा आउनुअघि आहालेमा घरायसी तरकारी खेतीसमेत न्यून थियो । अहिले प्रायः हरेक घरमा सुधारिएको करेसाबारी छ । टनेलमा व्यावसायिक तरकारी उत्पादन सुरु भएको छ । पशुचौपायको प्राङ्गारिक मल, झोल मल, गहुँत संकलन, चिया मल, इ एम टु मल बनाउने, गड्यौला मल उत्पादन—यी सबै सीप सिकेर रासायनिक मल र विषादीमा हुने खर्च घटाएका छन् । 
इन्द्रकान्ती आफैंले गोठ सुधार, भकारो सुधार, रैथाने बाली संरक्षण, माटो परीक्षण, बेमौसमी तरकारी उत्पादन र नेतृत्व विकाससम्बन्धी तालिम पाउनु भएको थियो । जसको उहाँसँग प्रमाणपत्र पनि छ । सोही तालिमका आधारमा उहाँले अहिले विभिन्न ठाउँमा पुगेर तालिम दिन थाल्नु भएको छ । 


जैविक खेती र व्यवस्थित ग्रामिण जिवनशैलीका लागि उदाहरणीय बन्दै गएको आहालेमा कृषि विद्यालयका विद्यार्थी, कृषक र अन्य क्षेत्रबाट समेत अवलोकन, भ्रमण गर्न आउने गर्छन् । कतिपय तालिम लिएर मात्रै फर्कन्छन् । यसको संचालन र व्यवस्थापनमा पनि अब्बल देखिनुहुन्छ, इन्द्रक्रान्ती । 


आहाले सिकाइ केन्द्रमा ३२ जना आबद्ध छन् । यसले घर–घर जोडेको छ, सामूहिकतामा एकताको भावना विकास गरेको छ ।
पहिले महिलाहरू घरभित्र सीमित थिए । बाहिर निस्कनसमेत कठिन लाग्थ्यो । अहिले उनीहरू समूहमा छलफल गर्छन्, उत्पादन गर्छन्, बजार पुगेर बेच्छन्, आफुले सिकेर गरेको कर्म अरुलाई पनि सिकाउँछन् । यसले उनिहरुलाई आत्मानिर्भर बनाएको छ, त्यो सँगै मिलेको छ आत्मासन्तुष्टी पनि । इन्द्रक्रान्तीका लागि यही सबैभन्दा ठूलो उपलब्धि हो ।


“पहिले घर खर्चका लागि श्रीमानसँग पटक–पटक पैसा माग्नुपथ्र्यो । अहिले आफैंसँग दुई–चार पैसा हुन्छ, तरकारी बेचेर बचतसमेत गर्न थालेकी छु,” उहाँले सुनाउनुभयोे । इन्द्रक्रान्तीकाअनुसार आत्मनिर्भर भएपछि सम्मान आफैं बढ्दो रहेछ । उहाँले थप्प्दै भन्नुभयो, “आफू सक्षम भएपछि कसैले हेप्न सक्दारहेनछन् ।”


परिवर्तन जीवनशैलीमा पनि छ । पहिले व्यक्तिगत सरसफाई समेत कमजोर थियो । अहिले पोषणयुक्त खाना पकाउने, सन्तुलित आहार खाने, सातदेखि नौ प्रकारसम्मका तरकारी आफ्नै करेसाबारीबाट उपभोग गर्ने अभ्यास बसेको छ । जुठेल्नोको पानी पुनः प्रयोगदेखि फोहोर व्यवस्थापनसम्म घर–घरमा व्यवहारमा उतारिएको छ । सन्तानलाई संस्कार र पोषण दिन आफ्नै उत्पादनको अर्गानिक खाद्य प्रयोगले स्वस्थ र खुसी परिवार निर्माणमा योगदान दिएको छ ।


सिकाई केन्द्रका सदस्यहरुको जिवनशैलीमा आएको परिर्वतनसँगै असल नेतृत्व गर्ने क्षमता बढेपछि गाउँमा अहिले होमस्टे सञ्चालनमा ल्याईएको छ । स्वच्छ, सफा हरियाली, जैविक खेती, सामुदायिक जीवनशैली र संस्कारले आहालेलाई ग्रामीण पर्यटनको सम्भावना बोकेको गाउँ बनाइरहेको छ । 


कुनै बेला अभाव र निर्भरताले घेरिएको बस्ती अहिले सीप, श्रम र स्वरोजगारले चिनिन थालेको छ । यो सही अवसर, सीप र सामूहिक अभ्यासले गाउँ कसरी बदलिन्छ भन्ने उदाहरण हो । जहाँ आत्मनिर्भरताको दर्शन छ, महिलाको नेतृत्व छ, सामुदायिक रुपान्तरणको पाठ छ र त्यो पाठको केन्द्रमा उभिनु भएको छ, गृहणी इन्द्रकान्ती ।
 

प्रतिकृया दिनुहोस