सिन्धुलीमा विपद् पूर्वतयारी सुदृढ बनाउन कृत्रिम अभ्यास
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सुनकोशी नदी पुल क्षेत्रमा बिहीबार संयुक्त विपद् प्रतिकार्य सिमुलेशन “अभ्यास मनसुन–६” सम्पन्न गरिएको छ । मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण तथा खोज–उद्धार कार्यलाई प्रभावकारी बनाउन कृत्रिम अभ्यास प्रस्तुत गरिएको हो ।
नदीमा फसेका व्यक्तिको उद्धार, डोरी तथा र्याफ्ट प्रयोग गरी सुरक्षित स्थानमा स्थानान्तरण, पहिरो तथा भिरालो क्षेत्रमा फसेकाको उद्धार, घाइतेलाई प्राथमिक उपचारसहित अस्पतालसम्म पु¥याउने प्रक्रिया लगायतका अभ्यासमार्फत सुरक्षा निकायको तयारी, समन्वय र शीघ्र प्रतिकार्य क्षमताको प्रदर्शन गरिएको थियो ।
(1).jpg)
मनसुनजन्य विपद् सम्बन्धि संयुक्त अभ्यास समापन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले विपद् व्यवस्थापन बेस खुर्कोटमा खोज तथा उद्धारका लागि आवश्यक स्रोतसाधनको अभाव रहेको सुनाउनुभयो ।
उहाँले खुर्कोट क्षेत्रमा नौ जना तालिमप्राप्त गोताखोर भए पनि आवश्यक उपकरणको कमीका कारण उद्धार कार्य प्रभावित बन्ने गरेको उल्लेख गर्नुभयो । “र्याफ्ट बोट, मोटर बोट, गोताखोर सेटजस्ता आधारभूत सामग्रीको व्यवस्थापन गर्न सकिए विपद्का बेला उद्धार कार्य अझ प्रभावकारी बनाउन सकिन्छ,” उहाँले भन्नुभयो, “यसका लागि स्थानीय तहको सहकार्य अपरिहार्य छ ।”
मन्थली नगरपालिका, रामेछापका प्रमुख लव श्रेष्ठले विपद्जन्य घटनामा प्रभावकारी उद्धारका लागि तीनै तहका सरकारले आवश्यक स्रोतसाधन व्यवस्थापनमा प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । उहाँले विपद् पूर्वतयारीलाई योजनाबद्ध रूपमा अगाडि बढाउन सके जनधनको क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले मनसुनजन्य विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा पूर्वतयारीस्वरूप गरिएको अभ्यासले उद्धारकर्मीको क्षमता विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विपद् न्यूनीकरण, खोज तथा उद्धार कार्यमा सुरक्षा निकायलाई उच्च मनोबलका साथ सक्रिय रहन आग्रह गर्नुभयो ।
फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले जिल्ला विपद्को दृष्टिकोणले संवेदनशील क्षेत्रमा पर्ने बताउँदै सडक दुर्घटना, नदीजन्य डुबान तथा पहिरोका घटना यहाँका प्रमुख चुनौती रहेको उल्लेख गर्नुभयो । “मनसुनजन्य मात्र नभई जलवायु परिवर्तनका कारण उत्पन्न विपद्ले पनि बस्तीलाई जोखिममा पारेको छ,” उहाँले भन्नुभयो, “यसको न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह सुरक्षा निकायसँग हातेमालो गरेर अघि बढ्छ ।”
विगतका विपद्का घटना, तिनको प्रभाव तथा जोखिमको विश्लेषण गर्दै सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक समन्वय, पूर्वतयारी र कार्यजिम्मेवारी स्पष्ट पार्ने तथा सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला संस्थाबीच एकीकृत र समन्वयात्मक कार्यप्रणाली विकास गरी विपद्को समयमा शीघ्र तथा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्ने लक्ष्यसहित अभ्यास गरिएको आयोजकले बताएको छ ।
यस प्रकारका संयुक्त अभ्यासले सिन्धुलीसहित आसपासका क्षेत्रमा आउन सक्ने बाढी, पहिरो तथा अन्य विपद्का घटनामा सुरक्षा निकायको उद्धार क्षमता, समन्वय र परिचालनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा नेपाली सेना श्री भवानी बक्स गणको अगुवाइमा सञ्चालन गरिएको उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न सरकारी, गैरसरकारी निकायका प्रतिनिधि र स्थानीयबासीको सहभागिता रहेको थियो ।
यसैबिच यही जेठ ४ गतेदेखि खुर्कोटमा सञ्चालन भएको दश दिने गोताखोर अनुशिक्षण तालिमको पनि समापन गरिएको छ । उक्त तालिमले नदीजन्य विपद् तथा डुबानसम्बन्धी घटनामा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने शसस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीका प्रहरी नायव उपरीक्षक सुवर्ण पोख्रेलले बताउनुभयो ।
(1).jpg)





प्रतिकृया दिनुहोस