सुनकोशी कार दुर्घटना : बेपत्ताको खोजी जारी
सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिका–२, नौलपुरमा पाँच दिनअघि भएको कार दुर्घटनापछि सुनकोशी नदीमा बेपत्ता भएका तीन जना यात्रु र कार अझैसम्म फेला परेको छैन । खोजी कार्य भने जारी रहेको छ । साउन २५ गते दिउँसो १ बजेसम्म खोजी जारी राखिने फिक्कल गाउँपालिकामा प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि तथा पीडित परिवारका सदस्यबिच शुक्रबार भएको छलफलबाट निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार साउन २५ गते (सोमबार) दिउँसो १ बजेसम्म गोताखोर टोली, ड्रोन तथा म्याग्नेटसहित उपलब्ध सबै आधुनिक प्रविधि प्रयोग गरी खोजी कार्यलाई निरन्तरता दिइने छ । त्यसपछि खोजी कार्य स्थगित गरिने सहमति भएको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनापछि लगातार पाँच दिनसम्म सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन बेसक्याम्प खुर्कोटका गोताखोर, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले खोजी जारी राखे पनि हालसम्म बेपत्ता यात्रु तथा कार फेला पार्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सुनकोशी नदीमा पानीको बहाब अत्यधिक तीव्र हुनु, नदी धमिलो हुनु र गहिराइका कारण गोताखोरलाई खोजी कार्यमा ठुलो कठिनाइ भइरहेको बताउनुभयो । सुनकोशी नदीमा पानीको बहाब उच्च रहेकाले बेपत्ता यात्रु र कार फेला पार्न असम्भव जस्तै भएकाले कहिलेसम्म खोज्ने भनेर सरोकारवालाबिच बैठक गरेर साउन २५ सम्म मात्र खोज्ने सहमति गरेको हो ।
फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले धार्मिक तथा सामाजिक परम्परालाई समेत ध्यानमा राखेर निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार साउन २५ सम्म बेपत्ता भएको आठ दिन पुग्ने भएकाले त्यसपछि पीडित परिवारले धार्मिक संस्कार अनुसार काजकिरिया गर्नुपर्ने अवस्था आउने भएकाले सोही आधारमा खोजी कार्यको समय निर्धारण गरिएको हो ।
साउन १८ गते काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले सडक किनारमा रोकिएको कारलाई ठक्कर दिएपछि दुर्घटना भएको थियो । दुर्घटनापछि कारमा सवार सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय निर्माण व्यवसायी दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय गणेश थापा र तीनपाटन गाउँपालिका–९, डाँडाखर्क निवासी १७ वर्षीय सुजन बलम्पाकीमगर हालसम्म बेपत्ता हुनुभएको छ ।
बेपत्ता भएका तीन यात्रुको परिवारलाई दुर्घटनामा संलग्न बस सञ्चालकले क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । इलाका प्रहरी कार्यालय खुर्कोटमा बुधबार बेलुका सुरक्षा निकाय, पीडित परिवार, उक्त बस सञ्चालन गर्ने समिति र जनप्रतिनिधिबिच भएको छलफलमा उक्त सहमति भएको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार बस सञ्चालन गर्ने समितिले प्रतिपरिवारलाई आउने बिमाको रकममा अतिरिक्त पाँच लाख थपेर सात दिनभित्र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।




2026-05-28-17-14-50.jpg)

प्रतिकृया दिनुहोस