ब्रेक फेल भएर हाइस दुर्घटना हुँदा चार जना घाइते
सिन्धुली । जिल्लाको गोलञ्जोर गाउँपालिका–५ छब्बिसस्थित बिपी राजमार्गमा आज हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।मोरङबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ५९८४ नम्बरको हाइस ब्रेक फेल भई अनियन्त्रित भएर सडकको नालामा खसेर दुर्घटना भएको सिन्धुली प्रहरीले जनाएको छ । दुर्घटना आज दिउँसो करिब १ः४५ बजे भएको हो ।
मोरङ बेलबारी नगरपालिका–३ का २५ वर्षीय चालक उमेश श्रेष्ठले चलाएको उक्त हाइसमा चालकसहित १४ जना सवार थिए । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइतेमध्ये धनुषाको गणेशमान नगरपालिका–७ की २२ वर्षीया रुवी साहको टाउको र अनुहारमा चोट लागेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का १९ वर्षीय समित भुजेलको शरीरका विभिन्न भागमा चोट लागेको र उहाँको अवस्था पनि गम्भीर रहेको छ ।
सोही स्थानका २० वर्षीय उज्वल चौधरीको दुवै खुट्टामा चोट लागेको छ भने सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ४२ वर्षीय दुर्गानन्द शर्माको दुवै हातमा चोट लागेको छ । दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको र उपचार भइरहेको प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा परेको हाइस घटनास्थलमै रहेको तथा चालकलाई प्रहरी चौकी गढीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।




2026-05-28-17-14-50.jpg)

प्रतिकृया दिनुहोस