बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

फाइल तस्बीर


सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा आज भएको सवारी दुर्घटनामा कार सुनकोशी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् ।


जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार आज बिहान ११ः४५ बजे काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले सोही दिशामा सडक किनारमा रोकिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो । ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले बताउनुभयो ।


उहाँकाअनुसार दुर्घटनामा कार चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी करिब ३९ वर्षीय दिलकुमार लामा, कारमा सवार स्काईभेटर चालक सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ निवासी करिब २७/२८ वर्षीय गणेश थापा तथा नाम, थर र वतन नखुलेका एक जना हेल्पर बेपत्ता भएका छन् ।


दुर्घटनामा संलग्न बसका चालक सिन्धुलीको फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङमा राखिएको बताइएको छ ।


प्रहरीले बेपत्ता व्यक्तिहरू तथा नदीमा खसेको कारको खोजी तथा उद्धार कार्य जारी रहेको जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढ्दो क्रममा रहेको पाइएको छ ।
 

प्रतिकृया दिनुहोस