साझेदारीको शक्तिः ग्रामिण भान्सामा पोषण, महिलामा सशक्तिकरण
सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका–२ सालुबेशीमा चारवर्ष अघिसम्म जीतमाया बम्जनको जीवन अरू ग्रामीण महिलाको जस्तै थियो–घरधन्दा, मेलापात र परिवारको जिम्मेवारीमा सीमित । साँझ–विहान काममा खट्दा पनि दैनिक गुजारा चलाउन समस्या हुन्थ्यो ।
तर, पछिल्लो समय परिर्वतन भएको छ । उहाँ व्यवसायिक उत्पादनदेखि नेतृत्वदायी भूमिकामा समेत अग्रसर हुनुहुन्छ । आफ्नै करेसाबारीमा उत्पादन भएको ताजा, जैविक विधिद्धारा उत्पादित तरकारीले घरपरिवारको पोषण मात्र पूरा भएको छैनन्, अतिरिक्त उत्पादन बेचेर मासिक आम्दानी पनि भएको छ ।
यतिबेला बेमौसमी काक्रो, टमाटर, स्कुस, साँग, क्याप्सिकन र खुर्सानीले भरिएको उहाँको करेसाबारी बाह्रै महिना हरियाली हुन्छ । छाप्रो टनेलमा झुण्डिएका लटरम्म काक्राहरू देखाउँदै उहाँले भन्नुभयो्, “बीउ रोप्दा र गोडमेल गर्दा दुःख हुन्छ, तर फल्न थालेपछि खुशीले करेसाबारीमै नाच्न मन लाग्छ ।”
पहिले एक थरिको तरकारी पकाउन समेत समस्या भोग्ने जीतमायाको भान्सा अहिले विविधताले भरिएको छ । “अहिले हाम्रो भान्सामा सातबारमा नौ थरिका तरकारी पाक्छन्,” उहाँले भन्नुभयो । अझ रोचक कुरा, घरमा खपत भएर बाँकी रहेको तरकारी बेचेर मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्न उहाँ सफल हुनुभएको छ । जीतमायाको अनुभवले बजारमा पाइने तरकारीप्रति पनि प्रश्न उठाउँछ । विषादी र रासायनिक मलको अत्यधिक प्रयोगबाट उत्पादन भएका तरकारीले स्वास्थ्यमा असर गर्ने र स्वादमा समेत कमी हुने उहाँको बुझाइ छ ।
त्यसैले उहाँ जैविक विधि अपनाएर कृषि उत्पादन गर्नुहुन्छ । यसले उहाँको परिवारलाई स्वस्थ बनाएको मात्र होइन, बजारमा पनि जैविक तरकारीको माग बढाउँदै लगेको छ । उहाँको आत्मनिर्भरता केवल तरकारीमा सीमित छैन । गोठमा भैंसी पालन, आफ्नै बारीमा पोषिलो घाँस उत्पादन, लोकल कुखुरा र बाख्रा पालनजस्ता कामले उहाँको आम्दानीका स्रोतहरू विविध बनेका छन् ।
दुध र दही बेचेर पनि उहाँ नियमित आम्दानी गर्नुहुन्छ । किम्बु, अम्रिसोजस्ता घाँसका विरुवा बिक्री गर्नु पनि उहाँको अतिरिक्त आयको स्रोत हो । यसरी उहाँले परम्परागत कृषिलाई आधुनिक र व्यवस्थित ढंगले अपनाउँदै जीवनस्तर उकासिरहनु भएको छ ।
यसै ठाउँकी जिरीमाया लामा पनि यस्तै परिवर्तनको अर्को उदाहरण हुनुहुन्छ । उहाँले एक कठ्ठा जमिनलाई व्यवस्थित करेसाबारीमा परिणत गर्नुभएको छ । टनेलभित्र लहलहाएका काक्रो, क्याप्सिकन, साँग, खुर्सानी, भ्यान्टा र बोडीले करेसाबारी आकर्षक देखिन्छ । गमलामा रोपिएको राताम्मे स्ट्रबेरीले त झन् सौन्दर्य थपेको छ । जिरीमायाले पनि अतिरिक्त तरकारी बेचेर मासिक १२ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको सुनाउनुभयो ।
यी व्यक्तिगत सफलताका कथाहरू सामूहिक प्रयाससँग जोडिएका छन् । वल्र्ड नेर्वससँगको साझेदारीमा सिड्स नेपाल, सिन्धुलीले सञ्चालन गरेको नेपाल एकीकृत ग्रामीण विकास परियोजनाले महिलाहरुलाई सालुबेशी कृषक समूहमा आवद्ध गराएर कृषि तालिम, नर्सरी व्यवस्थापन, करेसाबारी विकास लगायतका सशसक्तिकरण सम्बन्धि तालिमसहितको प्राविधिक सहयोग गरेपछि यो परिर्वतन आएको हो ।
समूहकी सचिव कविता स्याङतानकाअनुसार तरकारी बेचेको केही पैसा समुहमा बचत हुन्छ । पहिले ५० रुपैयाँबाट सुरु भएको बचत अहिले बढेर मासिक १५० रुपैयाँ पुगेको छ । समुहका सदस्यहरुको आम्दानी बढेसंगै बचत पनि बढाएको उहाँले बताउनुभयो । भन्नुभयो, “समूहमा १८ जना सदस्य आवद्ध छन् । तीन वर्षमै एक लाख रुपैयाँभन्दा बढी बचत संकलन भइसकेको छ ।” यो बचत सबैले तरकारी बेचेर आएको आम्दानीबाट गरेका हुन् ।
यो समूहले केवल आर्थिक गतिविधि मात्र होइन, सामाजिक परिवर्तन पनि ल्याएको छ । पहिले सरसफाइमा ध्यान नदिने समुदाय अहिले व्यक्तिगत, घर र गोठको सरसफाइमा सजग भएको छ । हरेक घरमा करेसाबारी बनेका छन् । अझ महत्वपूर्ण कुरा, महिलाहरूको भूमिकामा ठूलो परिवर्तन आएको छ ।
पहिले घरभित्र सीमित रहने, बोल्न हिच्किचाउने महिलाहरू अहिले बैठक सञ्चालन गर्छन् । उनिहरु नेतृत्व गर्न सक्षम भएका छन् । आर्थिक रूपमा सक्षम भएपछि उनीहरूको आत्मविश्वास पनि बढेको छ । “पहिले सानो खर्चका लागि पनि श्रीमानसँग हात फैलाउनु पथ्र्यो, अहिले आफ्नै पैसा हुन्छ,” उहाँले भन्नुभयो ।
कविताको आफ्नै करेसाबारी पनि उदाहरणीय छ । भ्यान्टा, रायोको साँग, लट्टेको साँग, बोडी, क्याप्सिकन, बन्दा, काक्रो र फर्सीजस्ता सातदेखि नौ प्रकारका तरकारी बाह्रै महिना उत्पादन हुन्छन् । दुई वटा भैंसी पालन गर्नुभएको छ । कृषि वनमार्फत आफ्नै बारीमा घाँस उत्पादन भएपछि जंगल धाउनुपर्ने बाध्यता छैन ।
यी सबै परिवर्तनको आधार भनेको “काम गर्ने तरिका परिवर्तन” हो । पहिला गरिरहेको कामलाई नै फरक ढंगले, व्यवस्थित र व्यवसायिक रूपमा गर्न थालेपछि उनीहरूको जीवनमा आमूल परिवर्तन आएको छ । यद्यपि, अझै केही चुनौतीहरू बाँकी छन् । महिलाहरूले थप सिपमूलक तालिम, व्यवस्थित टनेल निर्माण र प्राविधिक सहयोगको आवश्यकता औंल्याएका छन् । यस्ता सहयोगहरू निरन्तर पाइरहे उत्पादन र आम्दानी अझ बढ्ने कविताको भनाई छ ।
जीतमाया, जिरीमाया र कविताजस्ता महिलाहरूको कथा केवल व्यक्तिगत सफलता होइन—यो आत्मनिर्भरता, सशक्तीकरण र दिगो ग्रामीण विकासको सशक्त नमुना हो, जसको जगमा उभिएको छ—साझेदारी, सीप र सही मार्गदर्शन । नेपाल एकीकृत ग्रामीण विकास परियोजनाको प्रभावका रूपमा यी उपलब्धि सम्भव भएका छन् । यो परियोजनाले ग्रामीण महिलाहरूलाई सीप, आत्मविश्वास र अवसर प्रदान गर्दै आत्मनिर्भर बन्ने बाटो देखाएको छ ।
व्यक्तिगत करेसाबारीदेखि सामूहिक बचतसम्म, र घरभित्र सीमित भूमिकादेखि नेतृत्वसम्म महिलामा परिर्वतन देखिन थालेको छ । परियोजनाले थप सशक्त रुपमा सहयोगलाई निरन्तरता दिइरहे ग्रामिण गाउँ सालुबेशीमा देखिन थालेको सशक्तिकरण र आत्मानिर्भरतामा दिगोपन आउने थियो ।






प्रतिकृया दिनुहोस