ज्वालादेवीमा छात्रवृृत्ति र मूर्ति स्थापना
सिन्धुली । जिल्लामै नमूना सामुदायिक विद्यालयका रुपमा रहेको ज्वालादेवी माध्यमिक विद्यालयमा पाँच लाख रुपियाँ राशिको छात्रवृत्ति स्थापना गरिएको छ । जिल्लाको सुनकोसी गाउँपालिका–१ बालुवाटारस्थित सो विद्यालयमा शनिबार आयोजित मूर्ति स्थापना कार्यक्रममा जग्गादाता उपेन्द्रकुमार प्रधानले सो घोषणा गर्नुभएको हो ।
काठमाडौँ क्षेत्रपाटीका उपेन्द्रकुमार प्रधानले स्वर्गीय माता लहरमाया प्रधान र स्वर्गीय श्रीमती पुण्यश्वरी प्रधानको स्मृतिमा छात्रवृत्ति स्थापना घोषणा गर्नुभयो । कार्यक्रममा प्राडा विद्यानाथ कोइराला, सुनकोसी गाउँपालिका उपाध्यक्ष कपिल कोइराला, ज्येष्ठ नागरिक अमन्तिनाथ कोइराला, विद्यालयका पूर्वप्रधानाध्यापक रामकृष्ण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कौशल कोइरालालगायतले विद्यालयमा स्थापित स्वर्गीय ज्वालादेवी श्रेष्ठको प्रतिमाको सामुहिक रुपमा अनावरण गर्नुभएको थियो ।
साविकको देवीस्थान माध्यमिक विद्यालयलाई उपेन्द्रकुमार प्रधान, सुरेन्द्रकुमार प्रधान र पुरेन्द्रकुमार प्रधानले हजुरआमा ज्वालादेवी श्रेष्ठको नाममा १० रोपनी १५ आना २ पैसा जग्गा दान गर्नुभएको थियो । त्यसपछि विद्यालयको नाम परिवर्तन गरी ज्वालादेवी माध्यमिक विद्यालय राखिएको विद्यालयका प्रधानाध्यापक नारायण नेपालले जानकारी दिनुभयो । सोही विद्यालय प्राङ्गणमा स्वर्गीय ज्वालादेवी श्रेष्ठको प्रतिमासहित सरस्वती र गणेशको मूर्ति स्थापना गरिएको हो ।
ज्वालादेवीको प्रतिभा, गणेश र सरस्वतीको मूर्ति निर्माण तथा दाचेइँटसहितको मूर्ति स्थापनास्थलको निर्माणसमेत जग्गादाताहरुले नै गर्नुभएको जनाइएको छ । सोही अवसरमा गणेश र सरस्वतीको मूर्तिको प्राणप्रतिष्ठा समेत गरिएको थियो । कार्यक्रममा साविक कुशेश्वर दुम्जा गाउँ विकास समितिका पूर्व अध्यक्ष शम्भुप्रसाद दाहालले छात्रबृत्ति कोष स्थापनाका लागि स्वर्गीय दिदी सीता सापकोटाको नाममा एक लाख एक हजार १०५ रुपियाँ नगद विद्यालयकाका प्रधानाध्यापक नारायण नेपाललाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यानाथ कोइरालाले शिक्षासेवी, समुदायको सव्रिmयतामा सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा कसरी दिनसक्छ भन्ने उदाहरण ज्वालादेवी मावि भएको चर्चा गर्नुभयो ।






प्रतिकृया दिनुहोस