चिसो बढेपछि सिन्धुलीको कमलामाई र दुधौलीका विद्यालयमा बिदा


सिन्धुली । जिल्लामा पछिल्लो केही दिनदेखि अत्यधिक बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको छ । चिसो बढेसँगै कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गराएका छन् । 


कमलामाईले बुधबार एक सूचना जारी गरी नगर क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयको पठनपाठन पुस १७ र १८ गते बन्द गरेको उल्लेख गरेको छ । २०८२ सालको वार्षिक विदाबाट मिलान हुनेगरी दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।


उहाँकाअनुसार मौसम अनुकूल भएसँगै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन पुनः सुचारु हुने छ । कमलामाई नगरपालिकामा प्रावि, आधारभूत र माध्यमिक तहका गरी ८४ वटा सामुदायिक विद्यालय र २४ वटा संस्थागत विद्यालय छन् । 


त्यसैगरी, दुधौली नगरपालिकाले चिसो बढेका कारण बुधवारदेखि अर्को सूचना जारी नभएसम्म नगर क्षेत्र भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय अनिश्चितकालका लागि बन्द गरेको बताएको छ । उक्त विदा २०८२ सालको वार्षिक विदाबाट मिलान हुनेगरी दिएको नगरपालिकाका कार्यबाहक प्रमुख चन्द्रकिसोर थारुले जानकारी दिनुभयो ।


 दुधौलीमा प्रावि, आधारभूत र माध्यमिक तहका गरी ६७ वटा सामुदायिक विद्यालय र १६ वटा संस्थागत विद्यालय रहेका छन् ।
अत्याधिक चिसोका कारण जिल्लाका अधिकांस ठाउँका स्थानीयबासीले आगो बालेर धुनी तात्न थालेका छन् । 

 

प्रतिकृया दिनुहोस