रास्वपा सिन्धुलीको सभापतिमा अविनाश बस्नेत


सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको सभापतिमा अविनाश बस्नेत निर्वाचित हुनुभएको छ । प्रथम जिल्ला अधिवेशनमा सहमति जुट्न नसकेपछि सभापतिसहित पदाधिकारी तथा केही सदस्य पदका लागि निर्वाचन गरिएको थियो । 


शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार सभापति पदमा बस्नेतले १८१ मत प्राप्त गर्दै विजय हासिल गर्नु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी वृखबहादुर बम्जन (अशोक) ले ८८ मत प्राप्त गर्नुभयो भने कर्णबहादुर कार्कीले ४ मत प्राप्त गर्नुभएको थियो ।


उपसभापतिमा रामचन्द्र अधिकारी १०३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सागर खत्रीले ९२ मत तथा दिलीपजंग थापाले ६६ मत प्राप्त गर्नु भएको थियो ।


सचिव पदमा लालप्रसाद देवकोटा (एलपी) १८६ मतसहित विजयी हुनु भएको छ । उहाँको प्रतिद्वन्द्वी रोमबहादुर देवकोटा (सुवास) ले ७१ मत प्राप्त गर्नुभएको थियो । सह–सचिव पदमा दिनेशप्रसाद सापकोटा (मोटु) १३० मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी रमेश खत्रीले ११६ मत प्राप्त गरेर उपविजेता बन्नु भयो ।


खुला सदस्यमा दिवस पहाडी तथा दलित सदस्यमा कुमार रसाइली निर्वाचित भएका छन् । महिला सदस्यतर्फ सूर्यकुमारी गौतम र सुनिता गजुरेल निर्विरोध निर्वाचित भएका थिए । सभापति पदमा पराजित भए पनि धेरै मत प्राप्त गरेका वृखबहादुर बम्जन (अशोक) विधानअनुसार जिल्ला समिति सदस्य बन्नु भएको छ । अन्य दुई सदस्य भने जिल्ला समितिको पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ ।

 

त्यसैगरी, क्षेत्र नं. १ को संयोजकमा मनिष कार्की र क्षेत्र नं. २ को संयोजकमा कैलाश थापा निर्वाचित भएका छन् । कुल २७४ प्रतिनिधिले मतदान गरेको अधिवेशनबाट रास्वपा सिन्धुलीले नयाँ जिल्ला नेतृत्व चयन गरेको हो । 
 

प्रतिकृया दिनुहोस