विछोडपछि पनि बाँच्छ प्रेम

अस्ति आँखा जुध्यो । हिजो मन साटियो । आज मनै फाटियो । भोलिबाट फेरि पराइं ।

 

कति छिटो बदलिँदो रहेछ है, सम्बन्धहरूको समय ? कुन बेला कसैको जिन्दगीको सबैभन्दा नजिकको मान्छे बनिन्छ, अनि कुन बेला उही मान्छे विछोडिए टाढा पुग्छ—पत्तै नहुने । 


के विछोड प्रेमको अन्त्य नै हो र ? मलाई लाग्छ, विछोड प्रेमको अन्त्य होइन । विछोडले प्रेमलाई मार्दैन । विछोडले त केवल एउटा सम्बन्धको ढोका बन्द गर्छ, प्रेमको होइन ।

 

किनकि प्रेम भनेको सम्झौतामा बाँधिएको सम्बन्ध मात्र होइन । यो त मनभित्र उम्रिएको एउटा भावना हो—जसलाई न त कुनै औपचारिक नाम चाहिन्छ, न त कुनै अन्तिम घोषणा ।

 

यदि विछोड नै प्रेमको अन्त्य हुन्थ्यो भने, किन अझै पनि कहिलेकाहीँ उसैको यादले मन बरालिन्छ ? किन उसको हाँसो सम्झिँदा मन हल्का मुस्कुराउँछ ? किन उसको पीडाको कल्पनाले मनभित्र हल्का चिसोपन आउँछ ?

 

साँचो कुरा के हो भने—सम्बन्ध टुट्छ, तर अनुभूति हराउँदैन ।

 

एक समय थियो, जब हामी ‘हामी’ थियौँ । आज म ‘म’ छु, ऊ ‘ऊ’ छ । तर त्यो ‘हामी’ भित्र बाँचेका क्षणहरू अझै कतै जिउँदै छन्, स्मृतिको कुनै कुनामा ।

 

पहिले प्रेमले हामीलाई जोडेको थियो, अहिले विछोडले हामीलाई छुट्याएको छ । तर प्रेम भने अझै पनि आफ्नो ठाउँमा उस्तै शान्त, उस्तै गहिरो छ । बस, अब त्यो व्यक्त हुँदैन, महसुस मात्र हुन्छ ।

 

अझ रोचक त के छ भने सम्बन्धमा हुँदा हामीले प्रेमलाई सधैं जोगाउनुपथ्र्यो, मिलाउनुपथ्र्यो, कहिलेकाहीँ आफूलाई बदल्नुपथ्र्यो । तर विछोडपछि, प्रेम एकाएक स्वतन्त्र हुन्छ । 

 

अब म उसलाई आफ्नो हिसाबले माया गर्न सक्छु । न कुनै अपेक्षा, न कुनै जवाफको प्रतीक्षा । उसले सम्झियोस् या नसम्झियोस्, म भने उसलाई सम्झिरहन्छु—शान्त रूपमा, चुपचाप । 

 

कहिलेकाहीँ जीवनले थकाइ दिन्छ । आफ्नै जिन्दगीबाट अलिकति टाढा जान मन लाग्छ । त्यो बेला थाहा नपाईकन उही अनुहार सम्झिन्छ मनले ।

 

कुनै दिन अकस्मात भेट भयो भने आँखा जुध्छ तर शब्द हराउँछन् । हात काँप्छ, मन अडिन्छ, अनि समय केही क्षणका लागि रोकिएझैँ लाग्छ । तर त्यहाँबाट फर्किएपछि मन फेरि त्यही भन्छ, “अलिकति समय अझै पाएको भए हुन्थ्यो...।”

 

सायद, यही नै प्रेम हो । नजिक हुँदा व्यक्त हुने, टाढा हुँदा अझ गहिरो हुने । त्यसैले, विछोडलाई प्रेमको अन्त्य नमानौँ । यो त केवल एउटा अध्यायको अन्त्य हो, कथाको होइन ।

 

किनकि, साँचो प्रेम कहिल्यै सकिँदैन । यो त रूप बदल्छ– सम्बन्धबाट सम्झनामा, साथबाट दूरीमा, अनि शब्दबाट मौनतामा । त्यसैले, विछोडलाई अन्त्य होइन, एउटा यात्रा सम्झनुहोस्, जहाँ शारीरिक नजिकियताबाट होइन, मनको गहिराईबाट बाँधिएको हुन्छ । 


प्रेम कहिल्यै हराउँदैन । केवल रुप बदल्छ । प्रेम, प्रेम नै रहिरहन्छ ।
 

प्रतिकृया दिनुहोस