टोल–टोलमा पुगेर स्वास्थ्य सेवा दिँदै तीनपाटन गाउँपालिका


सिन्धुली । तीनपाटन गाउँपालिका, सिन्धुलीले टोल–टोलमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन थालेको छ । घरदैलोमै उपचार सेवा पाउन थालेपछि पालिकाबासी खुसी छन् । पालिकाले शुभारम्भ गरेको “टोल–टोलमा स्वास्थ्य सेवा” कार्यक्रमअन्तर्गत नागरिकले निःशुल्क उपचार, नियमित स्वास्थ्य परामर्श, औषधि वितरणदेखि रोग परीक्षणसम्मको सुविधा आफ्नो घर–आँगनमै पाउन थालेका हुन् । यसअघि घटौँको बाटो पैदल हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता थियो ।


टोल बस्तीमै स्वास्थ्यकर्मी पुगेपछि स्वास्थ्य सेवा लिन सहज भएको तीनपाटन गाउँपासलका–७ तोश्रामखोलाकी ज्येष्ठ नागरिक रुपा मश्राङग्रीले बताउनुभयो । भन्नुभयो, “हामीजस्ता बुढाबुढीलाई स्वास्थ्यमा सामान्य समस्या आउँदा उपचार गर्न टाढा–टाढा धाउनु पथ्र्यो । यो बाध्यता हट्यो, अहिले भने स्वास्थ्यकर्मी घरमै आइपुग्छन् ।”


पहाडी भूगोलमा बसोबास गर्ने अधिकांश स्थानीयबासीलाई स्वास्थ्य संस्थासम्म पुग्न निकै कठिनाइ हुन्छ । अस्पताल पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । तर, हालै गाउँपालिकाले सुरु गरेको “टोलटोलमा स्वास्थ्य सेवा” कार्यक्रमले स्थानीयलाई सहज बनाइदिएको छ । पालिकाले थालेको कार्यक्रमको प्रशंसा गर्दै ज्येष्ठ नागरिक भिमबहादुर मश्राङग्रीले भन्नुभयो, “पहिले हामीजस्ताई अस्पताल धाउन निकै गाह्रो हुन्थ्यो, अहिले भने स्वास्थ्य टोली आफैं टोलमा आउँछन् । सजिलो भएको छ ।” 


स्वास्थ्यकर्मी उर्मिला श्रेष्ठकाअनुसार यस कार्यक्रमले सबैभन्दा बढी ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त नागरिकलाई सहज बनाएको छ । उहाँले भन्नुभयो, “टोलमै पुगेर हामीले रक्तचाप, सुगर, सामान्य रोग परीक्षण गर्दा बिरामीलाई समयमै उपचार गर्ने अवसर मिलेको छ । यसले ग्रामीण स्वास्थ्य प्रवद्र्धनमा ठूलो टेवा पुग्छ ।”


कार्यक्रम सुरु भएको एक वर्षको अवधिमा हालसम्म सयौँले प्राथमिक उपचार, स्वास्थ्य जाँच र परामर्श पाइसकेका उहाँले बताउनुभयो । यसअघि अस्पताल पुग्न नसकेर उपचारमा ढिलाइ हुने समस्या हुन्थ्यो । पछिल्लो समय यो समस्या धेरै हदसम्म घटेको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामबेचन शाहकाअनुसार यो कार्यक्रम पालिका प्रमुख कर्णबहादुर थापामगरको पहलमा सुरु भएको हो । प्रमुख थापामगरले दक्षिण कोरिया भ्रमणको क्रममा त्यहाँको अभ्यास अवलोकन गरी आफ्नै पालिकामा कार्यक्रम कार्यान्वयन गर्नु भएको उहाँले सुनाउनुभयो । 


“पहिले स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा उपचारमा ढिलाई हुने समस्या हुन्थ्यो । अहिले भने स्वास्थ्यकर्मी नै टोलटोल पुगेका छन् । यो कार्यक्रमलाई अझ मजबुत बनाउन हामी योजना तयार गर्दैछौँ,” स्वास्थ्य शाखा प्रमुख शाहले सुनाउनुभयो । विशेषगरी दूरदराजमा बस्ने नागरिकलाई स्वास्थ्य सेवा पुग्दा रोग परीक्षण र उपचारमा ढिलाइ हुने समस्या घटेको छ ।


पालिकाका ६२ स्थानमा पुगेर सेवा प्रवाह गर्दा दुरदराजका बस्तीमा बस्ने नागरिकलाई रोग परीक्षण र उपचारका अवसर बढेका छन् । स्वास्थ्य परिक्षण नगरि अनेकन रोग पालेर बसेका विरामीले पनि उपचार पाएका छन् । हालसम्म त्यस्ता ३६२ जना बिरामीले उपचार पाइसकेका स्वास्थ्य शाखा प्रमुख शाहले बताउनुभयो ।

 

स्वास्थ्यकर्मीलाई दुख भएपनि ग्रामिण बस्तीका नागरिकले सहजै सेवा प्राप्त गर्न पाएका छन् । हालसम्म कार्यक्रम प्रभावकारी ढंगले चलिरहेको छ । तीनपाटन गाउँपालिकाले सुरु गरेको “टोलटोलमा स्वास्थ्य सेवा” कार्यक्रमले ग्रामीण बस्तीमा बस्ने नागरिकलाई सुविधा मात्र होइन, स्थानीय सरकार भएको अनुभूति पनि दिलाएको छ । पालिकाबासी आफ्नो स्वास्थ्य प्रति जिम्मेवारसमेत बन्दै गएका छन् । 


तीनपाटनमा २१ वटा स्वास्थ्य संस्था छन् । पालिका स्वास्थ्य शाखाकाअनुसार दुई वटा प्राथामिक स्वास्थ्य केन्द्र, छ वटा स्वास्थ्य चौकी, तीन वटा आधारभूत स्वास्थ्य केन्द्र र १० वटा सामुदायिक स्वास्थ्य इकाई छन् । त्यी सबै स्वास्थ्य संस्थाबाट पनि नियमित स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । 
 

प्रतिकृया दिनुहोस