गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविर : छ सय एक जनाले लिए सेवा 

सिन्धुली । जिल्लाको गोलञ्जोर गाउँपालिका–३ ग्वाल्टारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा छ सय एक जनाले विशेषज्ञ सेवा लिएका छन् । गोलञ्जोर गाउँपालिकाको आयोजना तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा र समुदाय पद्धति विकास सिन्धुलीको सहकार्यमा गोलञ्जोर आधारभूत अस्पताल ग्वालटारमा सञ्चालित दुई दिने निःशुल्क बृहत स्वास्थ्य शिविरमा छ सय एक जनाले विशेषज्ञ सेवा लिएका हुन् ।


मंगलबारबाट सुरु भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ स्त्री तथा प्रसूती रोग सेवा, भिडियो एक्सरे सेवा, छाला तथा यौन रोग सम्बन्धी उपचार सेवा, हाडजोर्नी तथा नासा रोग सम्बन्धी सेवा, रेडियोलोजी (एक्सरे) तथा जनरल सेवा लिएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मिन आछामीले जानकारी दिनुभयो ।


उहाँकाअनुसार एक सय ३० जनाले स्त्री तथा प्रसूती सेवा, एक सय १२ जनाले भिडियो एक्सरे सेवा, ४६ जनाले छालासम्बन्धी उपचार सेवा, एक सय ५७ जनाले हाडजोर्नी सेवा, एक सय ९० जनाले एक्सरे सेवा र दुई सय १५ जनाले जनरल सेवा लिएका छन् । यस्तै शिविरमा सुगर, प्रेसर, थाइराइड जाँच तथा परामर्श सेवा, रगत, दिसा, पिसाव, र खकार परिक्षण तथा निशुल्क औषधी वितरण गरिएको छ ।


शिविरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका संयोजक चिरन्जीवी चुडाल, डाक्टर सुपेन्द्र कार्की, डाक्टर प्रकाश दाहाल, डाक्टर संजित साह, डाक्टर सुभेक्षा अमात्य, डाक्टर सुनैना यादव, डाक्टर अभिनास यादव, डाक्टर विनय साह लगायतका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका १० जनासहित १४ जना विशेषज्ञहरुले सेवा प्रदान गरेका हुन् ।


शिविरमा सेवा प्रदान गर्ने चिकित्सक तथा कर्मचारीहरुलाई गाउँपालिकाले प्रशंसापत्र समेत प्रदान गरेको छ । 
 

प्रतिकृया दिनुहोस