निःशुल्क औषधी विक्री गर्ने वेलघारी स्वास्थ्य केन्द्र प्रमुख दाहाललाई जिम्मेवारीबाट हटाइयो


सिन्धुली । निःशुल्क औषधी विक्री गर्ने तीनपाटन गाउँपालिका–१ सिन्धुलीमा अवस्थित वेलघारी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सिनियर अहेव मोहनबहादुर दाहाललाई जिम्मेवारीबाट हटाइएको छ । 


दाहालले नेपाल सरकार मार्फत निःशुल्क वितरण हुने औषधी विक्री गरिएको तथ्य फेला परेकाले जिम्मेवारीबाट हटाइएको हो । 
पालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीद्धारा हस्ताक्षरित पत्रअनुसार स्वास्थ्य केन्द्र प्रमुखको जिम्मेवारीबाट दाहाललाई मंगलबारदेखि हटाइएको देखिन्छ । प्रमुख प्रशासकीय अधिकृत नेगीकाअनुसार निशुल्क औषधी र परीक्षण किट विक्री गरेको आरोपमा दाहाललाई प्रमुखको जिम्मेवारीबाट हटाइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 


तिनपाटन गाउँपालिका–१ का वडाध्यक्ष एवम् स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष गोविन्द राउतकाअनुसार केही दिनअघि गाउँपालिकाले पठाएको मलेरिया र औलो परीक्षण गर्ने निशुल्क किट स्वास्थ्य प्रमुख दाहालले बिक्री गरेको पाइएपछि स्थानीयवासीले प्रश्न उठाएका थिए । गएको भदौ २८ र २९ गते १२ वर्षीया बालिका रोजिता श्रेष्ठलगायत अन्य बिरामी उपचार गर्न जाँदा स्क्रब टाइफस र डेंगुको जाँच गर्दा प्रयोग हुने किटको पैसा लिएको र रसिदसमेत थमाएको खुलेको छ ।


वडाध्यक्ष एवम् स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष  राउतकाअनुसार समितिको बैठकले दाहालको राजीनामा स्वीकृत गरी गाउँपालिकामा पठाइसकेको र गाउँपालिकाले समेत सो राजीनामा स्वीकृत गरिसकेको छ ।
घटनाका सम्बन्धमा आरोपीत दाहालसँग सोधपुक्ष गर्न खोज्दा सम्पर्क हुन सकेन । 

 

प्रतिकृया दिनुहोस