सिन्धुलीमा सुरु भयो राष्ट्रिय कला महोत्सव


सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३, चपौलीस्थित निर्माणाधीन कला घर परिसरमा बिहिबारदेखि राष्ट्रिय कला महोत्सव सुरु गरिएको छ । ‘नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔँ’ भन्ने मूल नाराका साथ सुरु गरिएको महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्नुभयो । 


उद्घाटन समारोहमा सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा कला घर सिन्धुलीलाई ‘उच्च प्राथमिकता’ दिइने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो । “यस कला घरले लोप हुँदै गएको हाम्रो मौलिक र परम्परागत कलालाई जगेर्ना गर्ने अनुपम काम गरिरहेको छ । यसको विकासमा प्रदेश सरकारले आवश्यक सहयोग गर्छ,” उहाँले भन्नुभयो । 


वैशाख ३ गतेसम्म संचालन हुने महोत्सवलाई सम्बोधन गदैँ कमलामाई नगरपालिका, सिन्धुलीका प्रमुख उपेन्द्र कुमार पोखरेलले कलाघरका कलाकारले कलामार्फत देशलाई नै अन्तराष्ट्रिय रुपमा चिनाउन थालेको भन्दै प्रशंसा गर्नुभयो । नगरपालिकाले कलाघरले गरिरहेको सिर्जनात्मक र मौलिक कलाको उजागर, संरक्षण र प्रर्वधनमा निरन्तर सहयोग गर्ने बताउनुभयो । 


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले कला र संस्कृतिलाई जोगाउन सकेमा राष्ट्रिय एकता र समृद्धि बलियो हुने धारणा राख्नुभयो । महोत्सवको आज पहिलो दिन विभिन्न  जातजातिको कला, संस्कृति, पोसाक, परिकार र झाँकी प्रदर्शसमेत गरिएको थियो । नेपाली मौलिक परम्परा झल्कने घरका नमुना, मौलिक परिकारहरू, परम्परागत हस्तकला, चित्रकला, मूर्तिकला लगायतका कलाको प्रदर्शन गरिएको छ । 


राष्ट्रिय कलाघर सिन्धुलीले कलाघरलाई मौलिक कलाको संरक्षण गर्दै कला सिर्जनाको आविष्कार केन्द्र तथा सांस्कृतिक विश्वविद्यालयका रूपमा विकास गर्ने उद्देश्य लिएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले जानकारी दिनुभयो ।  उहाँकाअनुसार महोत्सवअवधिभर विभिन्न मौलिक खेलकुद, जिल्लाका विद्यालय स्तरीय नृत्य, गायन, चित्रकला लगायतका प्रतियोगिता पनि गरिने छ । राष्ट्रिय कलाकारहरुदेखि स्थानीय कलाकारहरुसम्मको बेजोड साँस्कृतिक प्रस्तुतिहरु रहनेछन् ।  स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री वितरण पनि महोत्सवमा गरिने छ । महोत्सवमा १० हजारभन्दा बढी दर्शकले कला महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ ।  

प्रतिकृया दिनुहोस