हेफरको ८० औँ वार्षिक उत्सव : ११ वटा बाच्छी उपहार 

 

सिन्धुली । “मेरो गोठमा जन्मिएका ‘खुशी र टिका’ तपाइलाई उपहार दिएको छु । यिनिहरुलाई भोक्कै, प्यासै र फोहोरमा नराखिदिनु होस् । म बेलाबेलामा भेट्न आइरहने छु ।”


यिनै शब्द बोल्दै कमलामाई नगरपालिका–५ सिन्धुलीकी रुकमणी अधिकारीले ‘खुशी र टिका’ नाम गरेका दुई वटा होलिस्टाइन जातका बाच्छी कुसुम थापामगरलाई उपहार स्वरुप प्रदान गर्नुभयो । 


दुई वटा बाच्छी उपहार स्वरुप दिनुभएकोमा खुशी व्यक्त गदँै थापामगरले रुकमणी अधिकारीलाई धन्यवाद दिनुभयो । भन्नुभयो, “मेरो घरमा दुई जना छोरा मात्रै छन्, तपाईले दिनुभएको उपहारलाई म छोरी सम्मान माया गरेर पाल्नेछु ।”


नेपाल सरकार, दक्षिण कोरिया सरकार, कमलामाई नगरपालिका, हेफर इन्टरनेशनल र सिन्धुली एकीकृत विकास सेवा नेपालको आर्थिक, प्राविधिक सहयोग तथा सहजिकरणमा कमलामाई–४ र ५ का ५१ परिवारले ८० वटा होलिस्टाइन गाई पालन गरेका छन् । 


दुई वर्षअघि कोरिया सरकारले उपहार स्वरुप दिएका होलिस्टाइन बाच्छी किसानलाई  वितरण गर्ने बेलामा नै सुरुवातमा गाई पाप्त गर्ने किसानले पहिलो बेतको बाच्छी उपहारस्वरुप अन्य किसानलाई दिनु पर्ने नियम सुनाइएको थियो । सोहीअनुसार किसान अधिकारीले पाल्दै आएको ‘माली र राम्री’ ले जन्माएका बाच्छी उपहार स्वरुप प्रदान गरिएको हो । 


हालसम्म यहाँका ६१ वटा गाई पहिलो बेत व्याइसकेका छन् । त्यसो त, हेफर इन्टरनेश्नलको समुदाय सशक्तिकरणको ८० औँ वार्षिक उत्सवका अवसरमा शनिबार सिन्धुलीको कनपामा आयोजित उपहार प्रदान समारोहमा ११ वटा बाच्छी उपहार स्वरुप किसानलाई वितरण गरिएको छ । एउटा बाच्छी कार्यक्रम स्थलमा प्रत्यक्ष रुपमा र अन्य १० वटा बाच्छी कार्यक्रम स्थलमा ल्याउन सम्भव नभएकाले सांकेतिक रुपमा उपहार प्रदान गरिएको थियो । 


उपहार प्रदान गरेका बाच्छीहरु तीनदेखि पाँच महिनासम्मका रहेका उपहार दिने किसानले बताएका छन् । होलिस्टाइन गाईमा एक बेतमा १० हजार लिटरसम्म दुध दिने क्षमता हुुन्छ । 


कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले दुध उत्पादन मार्फत किसानको जीवनस्तर उकास्न कमलामाई नगरपालिकामा लागु गरेर सफल भएको ‘मिल्की वे’ परियोजना संघिय सरकारसँग समन्वय गरेर अब बागमती प्रदेशका सबै पालिकामा विस्तार गर्ने प्रतिवद्धता जनाउनुभयो । 


हेफर इन्टरनेश्नलको ८० आँै वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्न सिन्धुलीमाडी आउनु भएका मन्त्री श्रेष्ठले कृषि तथा पशुपंक्षी क्षेत्रको विकास गरेर सरकारले देशको अर्थतन्त्रलाई सबल बनाउने नीति लिएको बताउनुभयो । “कृषि तथा पशुपंक्षी क्षेत्रको विकास विना अर्थतन्त्रको विकास हुन सक्दैन । यसका लागि सरकारले प्रदेशभित्र रहेका सबै पालिकामा संभाव्यता अध्ययन गरी कृषि उद्यमी लगायत किसानसँग साझेदारी कार्यक्रम अगाडी बढाउने छ,” उहाँले भन्नुभयो ।


कार्यक्रममा बोल्दै संघिय सरकारका कृषि तथा पशूपंक्षी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले किसानको गरिबी नघटाई देशको गरिबी नघ्ट्ने धारणा राख्नुभयो । भन्नुभयो, “देशको गरिबी घट्न पहिला किसानको गरिबी घट्नु पर्छ, समृद्धिको यात्रा पनि त्यहीबाट हुन्छ । किसान समृद्ध भए गाउँ समृछ हुन्छ, त्यसले सम्पूर्ण देशको अर्थतन्त्रलाई समृद्ध बनाउँछ ।”  


समृद्धिका लागि किसानको आय बढाउनु पर्ने आश्यकता उहाँले औल्याउनुभयो । किसानको स्थिती सुधार गर्न कृषिमा लगानी बढाउनु पर्नेमा उहाँको जोड थियो । 


कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले कनपा दुध र मासुमा आत्मानिर्भर भएको सुनाउनुभयो । “सुरुमा २८ हजार लिटर प्रतिमहिना बजारमा आएपुग्ने दुध अहिले बढेर ५८ हजार लिटर प्रतिमहिना बजारमा पुगेको छ,” उहाँले भन्नुभयो । 


पाँच वर्षमा पाँच सय गोठ निर्माण गर्ने कनपाको लक्ष्य रहेकोमा हालसम्म दुई सय ६८ वटा गोठ निर्माण गरिसकिएको उहाँको भनाई थियो । कमलामाईले हेफर इन्टरनेश्नललाई समृद्धिको महत्वपूर्ण सहयात्रीका रुपमा लिएको पनि उहाँले बताउनुभयो । 


हेफर इन्टरनेश्नल नेपालका राष्ट्रिय निर्देशक डाक्टर तिर्थराज रेग्मीले देशका चार लाख परिवारको जीवनस्तर रुपान्तरका लागि हेफरले काम गरिरहेको सुनाउनुभयो ।  हेफर इन्टरनेशनलकी अध्यक्ष एंव प्रमुख कार्यकारी अधिकृत सुनिता सन्दोशमको अध्यक्षतामा संचालन भएको कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र लाभग्राही किसानहरुको उल्लेखनीय सहभागीता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस